Synopsis:
पानीमा खरानी उमालेर कपडा धोएको सम्झिन सक्नुहुन्छ ? पैतालाको टिका लाएर बाटो लाग्ने गर्नुहुन्छ ? जाँड खानु-अघि जुठो लगाइहाल्नुहुन्छ ? कहिले प्रश्न गर्नु भएको छ, यो सब किन र कहिलेदेखि गर्न थाल्नु भएको होला भनी ? माझ किरातका हामीहरूको संस्कारमा मुन्दुम्, मिथक, र मौखिक-परम्परागत-प्रणालीले अत्यन्तै महत्त्व राख्दछ ।
मुन्दुम्, मिथक, र सुनी आएका मौखिक-परम्परागत-प्रणालीको उपज हो— “उम्लिँदो खरानी र लेम्लेम्मा” । मातृसत्तात्मक समाजमा पितृसत्तात्मक विचारको बिउँले सुस्तरी, अन्ततः कसरी ग्रसित पाऱ्यो; यससँगसँगै रैथानी सौन्दर्यलाई कसरी मास्न, र भाँड्न खोज्यो— प्रतीकात्मक प्रतिप्रश्न गर्दछ यो नाटकले ।
समग्रमा यो नाटक; सामान्य निम्न परिवारमा सुनी आएको मिथक, वास्तविकतामा परिणत भयो भने ? देखेको मिठो निदरी/सपना बीभत्स बन्दै गयो भने ? यिनै कुराहरूको सेरोफेरोमा बाँचिरहेका छन्— यो नाटकका पात्रहरू ।